वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यो नाम रहन गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले बताए। ‘भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ,’ उनले भने।
भोटो जात्राको सुरुवातको यकिन मिति अझै पत्ता लागेको छैन। तर, मच्छेन्द्रनाथको यात्रा करिब एक हजार ३०० वर्षअघि सुरु भएको जोशीले बताए। किंवदन्तीअनुसार, यात्रा सुरु भएपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटकले वैद्य खोज्दा खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानेर टौदह लगे।
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए। यो औषधिले रानीको आँखा निको भयो। पुरस्कारस्वरूप मणिमाणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोक फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले।
मनुष्यरूपी भूतले भोटो लग्यो। किसानले खोजे, तर पाएनन्। मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पाएको भोटो भूतले लगाएको देखेपछि किसानले दाबी गरे। भूतले नदिएपछि विवाद भयो। कर्कोटकलाई बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको हक दुवैले पाउन नसक्ने निष्कर्ष निकालेर मच्छेन्द्रनाथको जिम्मा लगाइयो।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिने परम्परास्वरूप रथयात्रापछि भोटो जात्रा गर्ने चलन बस्यो। प्रत्येक वर्ष साइत हेरेर भोटो देखाइन्छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लान नसकेको किंवदन्ती छ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गर्दै आएका छन्। यस अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
प्रकाशित: १८ जेष्ठ २०८२ ०६:१२ आइतबार