१६ असार २०८२ सोमबार
image/svg+xml
शिक्षा

साहराविहीनको साहरा चौतारा, जहाँ हुर्कँदै छन् भविष्यका ३८ कर्णधार

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ का स्नेहा तामाङको न बुवा छन् न आमा। उमेरले ६ वर्ष मात्रै भएका उनको बुवा हराएको निकै वर्ष भयो भने आमाले छाडेर केही वर्ष मात्रै। बुवा हराएपछि उनकी आमा अर्कैसँग बिहे गरेर गइन्। नाबालक उनी टुहुरा भइन्। गत वर्षदेखि तामाङ मेलचौरस्थित दरबार डाँडामा रहेको सहिद स्मृति आवासीय बालग्राममा पढ्‌छिन्, त्यहीँ बस्छिन्। उनको पालनपोषण र शिक्षा दीक्षा नगरपालिकाले नै व्यवस्था गरिएको छ।

सोही नगरपालिका-१० का जेशन श्रेष्ठ पनि उमेरले भर्खर ९ वर्ष लागे। उनको पनि बुवा जेलमा छन् भने आमा अर्को बिहे गरेर गएकी छन्। कोही नभएको श्रेष्ठ पनि सोही बालग्राममा बस्छन्, पढ्‌छन् र त्यहीँ रमाउँछन्। दिनभर स्कुलमा पढ्‌छन्, बालग्राममा आएपछि पढ्‌दै खेल्दै रमाउँछन्। उनलाई पढ्‌न, बस्न, खान र लत्ताकपडाको व्यवस्था नगरपालिकाले व्यवस्था गरेको छ।

चौतारा नगरपालिका-६ का प्रकाश बुढाथोकीको पनि केही वर्ष अघि बुवा बिते। बुढाथोकीका बुवा बितेपछि उनकी आमा गाउँमा एक्लै छिन्। उनको आमाको आम्दानीको स्रोत केही छैन। त्यसपछि उनी पनि बालग्राममै आए। अहिले उनको पालनपोषण र शिक्षादीक्षाको उनकी आमालाई तनाव छैन, सबै नगरपालिकाले नै व्यहोरेको छ।

तामाङ, श्रेष्ठ र बुढाथोकी त एउटा उदाहरण मात्रै हुन् उनीहरू जस्तै ३८ जना साहराविहीन उक्त बालग्राममा छन्। विपन्न तथा टुहुरा बालबालिकालाई संरक्षण गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले वर्षदेखि बालग्राम सञ्चालनमा ल्याएको हो। बालग्राममा आवासीय रूपमा आश्रित बालबालिकाको नगरपालिका स्वयम् अभिभावक बनेको हो। नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा 'देशबन्धु'को नेतृत्व र शिक्षाप्रतिको समर्पणले एक वर्षअघिदेखि सुरुवात भएको हो।

आमा वा बुबा वा दुवै नभएका, आर्थिक अवस्था कमजोर भई पढ्न नपाएका, लोपोन्मुख, सीमान्तकृत, सहिद तथा बेपत्ता परिवार, विद्यालय मर्जका कारण विस्थापित भएका लक्षित वर्गका बालबालिकालाई बालग्राममा समेट्‌ने गरेको चौतारा साँगाचोकगढी नगरपालिकाका विद्यालय निरीक्षक गोपाल खड्‌काले बताए। निशुल्क शिक्षासहित खाना बस्न आवासीय (होस्टल) बालग्रामको अवधारणा ल्याएको उनले जानकारी दिए।

खड्‌काका अनुसार सुरुको वर्षमा २० जना बालग्राममा थिए भने यस वर्ष २२ जनाले नगरपालिकाबाट सिफारिस लिएका छन्। जसमध्ये १६ जना आइसकेका छन् भने बाँकी आउने क्रममा छन्। उनीहरू सबै मेलचौरमा रहेको श्री ज्ञान मन्दिर माविमा पढ्‌छन्। 'उनीहरूको अतिरिक्त शिक्षाका लागि शिक्षकको व्यवस्था गरिएको छ,' खड्‌काले भने।

उनीहरूको रेखदेखका लागि बालग्राममा तीन जना कर्मचारी खटाइएको बालग्रामका अध्यक्ष रामकृष्ण दंगालले बताए। उनीहरूको हेरचाहदेखि सबै कर्मचारीले गर्ने गरेको दंगालले बताए। 'कतिपय खान पनि नमान्ने, कतिपय कपडामा दिसा-पिसाब गर्छन् उनीहरूको हेरचाह गर्नै पर्‍यो,' दंगालले भने।

एक वर्षअघिबाट मात्रै सञ्‍चालनमा आएकाले यसलाई अझ व्यवस्थित गर्दै लैजाने खड्काको भनाइ छ। नमूना बालग्राम बनाउने तारीका साथ काम गरिरहेको खड्‌काले बताए। बालग्राममा आउने बालबालिकाहरू विद्यालय नआउने समस्या रहेको उनले बताए। उनका अनुसार अलि उमेर भएकाहरू माझी समुदायका विद्यार्थीहरू विद्यालय आउन नमान्ने गरेको उनको भनाइ छ।

बालग्राममा रहेकाहरूलाई बिहानदेखि रातिसम्म शैक्षिक कार्यतालिका बनाएर पढाइने गरिएको खड्‌काले बताए। उनका अनुसार बिहान व्यायाम, खेल, दिउँसो विद्यालय र साँझ गृहकार्य र अध्ययन गराइने गरिएको छ।

बालग्राममा सबै बालबालिकाको सबै खर्च नगरपालिकाले नै बेहोर्ने गरेको नगर प्रमुख कृष्णप्रसाद सापकोटा 'देशबन्धु'ले बताए। 'लक्षित बालबालिकालाई बालग्राममा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गरिन्छ,' मेयर सापकोटाले भने, 'जसका कोही छैनन्, जसले पढ्‌न सक्दैनन् र बिचल्लीमा परेका बालबालिकालाई नगरपालिका नै अभिभावक भएको प्रत्याभूति दिलाउन लागेका छौँ।'  

'नमूना खालको आवाशिय विद्यालय बनाउने कन्सेप्ट थियो। पहिला गाउँ ठाउँमा जाँदा साहराविहीनहरू धेरै देखेको थिएँ,' मेयर सापकोटाले भने, 'आफू मेयरमा निर्वाचित पनि भएँ। अब चैं उनीहरूलाई साहरा दिनुपर्छ भन्ने लागेर बालग्राम सञ्चालन गरेका हौँ।' जिल्लाका अन्य स्थानीय तहका साहराविहीनहरूलाई पनि समेट्‌दै जाने उनले बताए।  

मेयर सापकोटाका अनुसार बालबालिकाको आधारभूत अधिकार प्रदान गर्न र संरक्षण गर्न बालग्राम स्थापना गरिएको हो। जिल्लामा यस्तो बालग्राम चौतारामा पहिलो भएको उनले बताए। 'बालग्राममा अहिले अभिभावक जेलमा रहेका, बाबुआमाले दोस्रो विवाह बिचल्लीमा परेका, कुमारी आमाबाट जन्मिएका, आर्थिक रूपले विपन्न, आमाबाबुविहीन, विद्यालय मर्जका कारण शैक्षिक सुविधाबाट बञ्चित भएका बालबालिकाहरू छन्,' मेयर सापकोटाले भने।

२०७२ सालको विनाशकारी भूकम्पको बेला आश्रयका लागि निर्माण गरिएको भवनलाई नगरपालिकाले गत वर्ष २३ लाख रुपैयाँ खर्च गरेर बालग्राम बनाएको थियो। बालग्राम बनाउनका लागि रामप्रसाद गौतम, दलबहादुर दंगाल र चेतबहादुर दंगालले जग्गा दिएका छन्। अहिले भने बालग्रामको भवन निमार्णाधीन अवस्थामा छ। भवन बनाउनका लागि बागमती प्रदेश सरकारले गत वर्ष ७० लाख रुपैयाँ दिएको थियो। यस वर्ष पनि ६५ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ।

प्रकाशित: ७ असार २०८२ १९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App
OSZAR »