स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव गरेको ओएनएम संरचनाको विरोधमा रेडियोग्राफी पेशासँग सम्बन्धित पेशाकर्मीले बिहीबारदेखि सुरु गरेको शान्तिपूर्ण कालोपट्टी बाँध्ने आन्दोलन भाेलि (सोमबार)सम्म चल्ने भएको छ।
सरकारी रेडियोग्राफी संघ, नेपालले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनेको छ, ‘यदि सोमबारसम्म मन्त्रालयबाट संवादको पहल नभए आन्दोलनलाई अझ सशक्त, निर्णायक र कठोर बनाउने तयारी थालिएको छ। तर आन्दोलनको चौथो दिनसम्म पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन, न संवादका लागि बोलाएको छ।’
संघका अध्यक्ष दामोदर रोक्काले भनेका छन्, ‘यो त हो हाम्रो देशको नीतिनिर्माण तहको सबैभन्दा दुखद विडम्बना, जबसम्म आन्दोलन कठोर हुँदैन, सेवा बन्द हुँदैन, र बिरामीलाई मार पर्दैन, तबसम्म सुनिँदैन। सेवा बन्द, हडतालपछि मात्र सुनिने परम्परा कहिलेसम्म?’ उनले थपे, ‘किन शान्तिपूर्ण रूपमा राखिएको व्यावसायिक मागलाई बेवास्ता गरिन्छ? मन्त्रालयको मौनता आफैंमा क्रूर व्यंग्यजस्तै छ।’
रोक्काले आन्दोलनप्रति देखाइएको समर्थनप्रति सरोकारवालालाई धन्यवाद दिँदै भने, ‘तपाईंको यो अपार साथले आन्दोलनलाई मात्र होइन, दशकौँदेखि मौन पीडा र उपेक्षा सहँदै आएका रेडियोग्राफी पेशाकर्मीको आत्मसम्मानलाई छोएको छ। हामी एक्ला छैनौँ भन्ने अनुभूति, आज यो संघर्षलाई आत्मबलमा बदलिरहेको छ।’
उनले थप भने, ‘यो केवल कालोपट्टी बाँध्ने कार्यक्रम मात्र होइन, दशकौँदेखि रेडियोग्राफी पेशामाथि भएको उपेक्षा, अवहेलना र अपमानको प्रतिकार हो। हामीले पटक-पटक नीति निर्माणमा हाम्रो पहिचान मेटाउने प्रयास देखेका छौँ, तर यसपटक हाम्रो स्वर यति गहिरो छ कि उनीहरूले सुन्न बाध्य हुनेछन्।’ रोक्काले स्पष्ट भने, ‘हामी रेडियोग्राफी पेशाकर्मी तपाईंको विश्वास कहिल्यै तोड्ने छैनौँ। यदि भविष्यमा थप कदम चाल्नुपर्ने अवस्था आयो भने, हामी तपाईंसँग परामर्श गरेर मात्र अघि बढ्नेछौँ।’
प्रेस विज्ञप्तिमा रेडियोग्राफी पेशाकर्मीको व्यावसायिकता, योगदान र अस्तित्वलाई बेवास्ता गरिएकोप्रति आपत्ति जनाइएको छ। रेडियोग्राफर, रेडियोग्राफी टेक्नोलोजिस्ट, शिक्षक र विद्यार्थीलाई अझ संगठित, सक्रिय र जिम्मेवार रूपमा आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ। देशैभरिका रेडियोग्राफी स्वास्थ्यकर्मी एकैपटक कालोपट्टी बाँधेर ऐक्यबद्ध विरोध जनाइरहेका छन्, तर ‘ऐतिहासिक काम’ भएको भन्ने स्वास्थ्य मन्त्री र मन्त्रालय अहिलेसम्म मौन रहेको आरोप उनीहरूको छ।

प्रकाशित: ८ असार २०८२ ०७:३२ आइतबार