सिरहाको प्रादेशिक अस्पतालमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।
चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन तथा चक्काजाम गरेका छन्।
सिरहा नगरपालिका वडा नम्बर-६, बसबिट्टाका १० वर्षीय राजन महराको उपचारका क्रममा मृत्यु भएपछि विवाद सुरु भएको हो।
परिवारका अनुसार, हिँड्दै अस्पताल आएका बालकको सामान्य उपचारका क्रममा मृत्यु हुनुले चिकित्सकको गम्भीर लापरबाही भएको उनीहरूको आरोप छ।

आक्रोशित आफन्त र स्थानीयले अस्पताल अगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरूले दोषी चिकित्सकलाई तत्काल कारबाही गर्नुपर्ने माग राख्दै चक्काजाम समेत गरेका छन्। यातायात प्रभावित बनेको छ।
प्रदर्शनले उग्र रूप लिन सक्ने भन्दै अस्पताल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र पासवानले घटनाबारे यथार्थ बुझ्ने काम भइरहेको र अवस्थालाई नियन्त्रणमा राख्ने प्रयास जारी रहेको जानकारी दिए।
अस्पताल प्रशासनले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।
प्रकाशित: १५ असार २०८२ १६:१८ आइतबार