पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नागरिकको प्रश्नको कठघरामा उभिएका छन्। विकास, समृद्धि र सुशासनको नारा दिएर मेयरमा निर्वाचित उनलाई नागरिकले महानगरपालिकाको शुक्रबार आयोजित ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रममा सहभागीहरूले प्रश्नको कठघरामा उभ्याएका हुन्।
विकासको नारा दिएको मेयरले महानगरको आफ्नै कार्यालय भवन निर्माण गर्न नसकेर लाचारी देखाएको देखि सुगम क्षेत्रमा खाल्डाखुल्डीयुक्त सडक बनाएको भन्दै व्यंग्य गर्नेसम्मका प्रश्न उठे। मानबहादुर जिसी मेयर हुँदादेखि नै महानगरको कार्यालय भवन बनाउने प्रक्रिया अघि बढे पनि मेयर आचार्यको कार्यकालको तीन वर्ष बित्दासमेत बन्ने छाँटकाँट नदेखिएपछि सार्वजनिक सुनुवाइमा सो प्रश्न उठेको हो।
कार्यक्रममा बोल्दै पोखरा–१८ का स्थानीय राजेश थापाले खाल्डाखुल्डी देख्नै नपर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा नभएको प्रति कटाक्ष गरे। पोखरा–१८, २३ र २४ लाई जोड्ने लेकसाईड–पामे सडक नबनेको प्रति व्यंग्यात्मक शैलीमा उनले भने, ‘खाल्डाखुल्डीयुक्त सडक निर्माण गरेकोमा धन्यवाद’, भन्ने अभियान नै चलायौं तै पनि सुनिएन र अहिले पनि खाल्डाखुल्डी पुरिएका छैनन्, मेयर साब त्यो बाटो कहिले बन्छ?’
थापाले पोखरामा हरियो बसको धुवाँ आतंक रहेको तर सरोकारवालाले त्यसलाई रोक्ने प्रयास नगरेको टिप्पणी गरे। त्यतिमात्र होइन, पोखरा नो हर्न जोन रहे पनि कार्यान्वयन नभएको तर्फ प्रश्न गर्दै उनले भने, ‘नो हर्न जोनमा हर्न आतंक कहिले बन्द हुन्छ?’
पोखरा–१६ जोगिमरेका गोपाल गिरीले खोला, नदी र तालको मापदण्ड फरक/फरक गर्नुको कारण सोधे। उनले भने, ‘मापदण्ड फरक/फरक राखिएको छ, आधार केही छ कि त्यत्तिकै हो?’
नागरिक अभियन्ता तथा नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले फेवाताल जलकुम्भी झार र फोहोरको टापुले कुरुप बन्दा पनि महानगर के हेरेर बसेको छ भन्ने प्रश्न गरे। सञ्चारकर्मी यदूनाथ बञ्जाराले बसपार्क बनाउन ओगटिएको जग्गा सुकुम्बासीको नाममा हुकुम्बासीले ओगट्दा पनि महानगरले बसपार्क बनाउनेतर्फ ध्यान नदिएको आरोप लगाए।
प्रश्नको खातमा जवाफ दिन उभिएका मेयर आचार्यले केही भइसकेका दृष्टान्त दिए भने केही हुँदै गरेका, केही आगामी अघि सारिने योजना बेलीविस्तार लगाए। पोखरा बनाउन आफू १८ घण्टा लागिरहेको भन्दै उनले भने, ‘मेसिनले झैं काम गरिरहेको छु। रिजल्ट देखिन्छ। केही समय कुर्नुहोस्।’ उनले पोखराको विकास निर्माणका लागि विभिन्न परियोजनामार्फत ३३ अर्ब भित्रिएर काम भइरहेको उल्लेख गरे।
खाल्डाखुल्डी नपुरिएको नागरिकको गुनासोको जवाफ दिँदै मेयर आचार्यले भने, ‘महानगरवासीले खाल्डाखुल्डी देख्नै नपर्ने गरी अभियान चलाइनेछ, हामी त्यसको तयारीमा छौं।’ उनले बसपार्क निर्माणको समेत तयारी भइरहेको उल्लेख गरे। बसपार्कको जग्गा सुकुम्बासीको नाममा हुकुम्बासीले कब्जा गरेको प्रति टिप्पणी गर्दै उनले भने, ‘हामी त्यसको पनि एक-एक छानबिन गर्छौं। साँच्चिकै सुकुम्बासीलाई अन्त जग्गा उपलब्ध गराएर हुकुम्बासीलाई हटाउँछौं र पुरानै क्षेत्रफलमा बसपार्क बनाउँछौं।’
मेयर आचार्यले कालो मुस्लो फाल्दै हिँड्ने सवारी विस्थापित गर्ने योजनामा महानगर रहेको सुनाए। अल्पकालीन रूपमा कम्तीमा सर्भिसिङ गरेर मात्र सवारी चल्ने ग्यारेन्टी गरिनेछ,' उनले थपे, ‘त्यस्ता गाडीमा हरियो स्टिकर टाँसेर चलाउने बनाउँछौं। दीर्घकालीन रूपमा भने इलेक्ट्रिक भेहीकल (ईभी) चलाउने नीति लिन्छौं।’
मेयर आचार्यले फेवातालमा देखिएको जलकुम्भी झार नियन्त्रण र प्लाष्टिजन्य फोहोरको टापु हटाउने अभियान पनि चाँडै सञ्चालन गर्ने बताए। फेवातालको शीरतिर हिउँदमै जलकुम्भी झार हटायो भने त्यो बढ्न पाउँदैन र ताल ढाकिदैन,' उनले भने, ‘जलकुम्भी बढ्न नदिन सानै हुँदा त्यो हटाउने अभियान तालको सिरान क्षेत्रमै सञ्चालन गरिनेछ।’
उनले ताल सफा बनाउने अभियान लक्ष्मी हाउससँग मिलेर चलाउन लागिएको बताए। जैविक रासायनिक वस्तुको प्रयोग गरेर ताल सफा गर्ने तयारीमा छौं,' उनले अगाडि थपे, ‘त्यसको पाइलोटिङ लेखनाथको कुनै एउटा सानो तालबाट सुरु गरिनेछ। त्यो सफल भएपछि फेवातालमा गर्छौं।’
मेयर आचार्यले महानगरको क्षेत्राधिकारभित्र नपर्ने विषयका कारण पनि महानगर र आफूले आलोचना खेप्नुपरेको गुनासो गरे। सडक, विद्युत्, खानेपानीलगायतका क्षेत्र संघ र प्रदेशको भए पनि महानगर र आफूले आलोचना खेप्नुपरेको बताउँदै उनले भने, ‘जुन सडकमा एक चपरी माटोसमेत महानगरले हाल्न पाउँदैन, त्यो सडक बिग्रिँदा महानगरले बनाएन भनेर आलोचना हुँदा दुःख लाग्छ।’
प्रकाशित: २० असार २०८२ १८:३९ शुक्रबार