१८ असार २०८२ बुधबार
image/svg+xml
खेल

सयाैं खेलमा लाओसमाथि नेपालको गोलवर्षा

कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप छनोटमा सानदार सुरुवात गरेको छ।

उज्वेकिस्तानको तास्केन्तमा भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसमाथि ९-० को फराकिलो र प्रभावशाली जित निकालेको हो।

खेलको सुरुवातदेखि नै लाओसलाई पूर्ण दबाबमा राखेको नेपालले गोलको खाता खोल्न १२ मिनेट कुर्नुपरेको थियो।

सविता राना मगरको क्रसलाई कप्तान साम्बाले हेडमार्फत मिलाइदिएको पासलाई अनिता बस्नेतले सुन्दर देब्रे खुट्टाको प्रहारमा गोलमा परिणत गर्दै नेपाललाई अग्रता दिलाइन्।

पहिलो हाफको अन्त्यतिर, ४४औं मिनेटमा अनिता बस्नेतको सटिक क्रसलाई साम्बाले उत्कृष्ट हेडरमार्फत जाली चुमाउँदै नेपालको अग्रता दोब्बर पारिन्।

दोस्रो हाफमा नेपाल थप आक्रामक देखियो र गोलको वर्षा नै गर्‍यो। ४७ औं मिनेटमा सारु लिम्बुले गोल गरिन् भने ५५औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल थपिन्।

त्यसको एक मिनेट नबित्दै ५६औं मिनेटमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई ५-० को बलियो स्थितिमा पुर्‍याइन्।

नेपालका लागि कप्तान सावित्राले ५ गोल गर्दा अनिता बस्नेत, सारु लिम्बु र रश्मि कुमारी घिसिङले एक-एक गोल गरे। एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो।

खेलको अन्तिम समयमा साम्बाकै प्रहार क्लियर गर्ने क्रममा लाओसका खेलाडीबाट आत्मघाती गोल हुन पुग्यो र नेपालले ९-० को सानदार जित सुनिश्चित गर्‍यो।

यस प्रभावशाली जितसँगै नेपालले छनोट प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ।

प्रकाशित: १५ असार २०८२ २०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App
OSZAR »