गणतन्त्रमा रमाउने र गणतन्त्र मन नपराउनेबीच बिहीबारको ‘मुकाबला’ सकिएको छ। बिहीबार प्रदर्शनी मार्गमा भएको नेकपा (एमाले)को गणतन्त्र उत्सवका तस्बिर र सोही दिन दिउँसो शान्तिबाटीमा भएको राजवादीको आन्दोलनका दृश्य भने अहिले सामाजिक सञ्जालमा प्रतिश्पर्धा गर्दै छन्।
राजवादीहरूले प्रदर्शनी मार्गको ठुलो चौरमा खाली भिडलाई देखाएर ‘पूरै काठमाडौं कब्जा गर्न सफल भएकोमा नेकपा (एमाले) र त्यसका अध्यक्ष प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई हार्दिक शुभकामना!’ भन्दै व्यंग्य गरेका छन्।
त्यस्तै गणतन्त्रवादीले पनि राजवादीको सानो भिडलाई लक्षित गरेर खिचेको तस्बिर पोस्ट गरेर उनीहरू खुम्चिँदै गएको भन्दै आनन्द लिएका छन्।
तर खासमा ती देखाइएका दुवै फोटाले साँचो भने बोलेका थिएनन्। भिड जम्मा हुनु अगाडि खिचिएका यी दुवै तस्बिरले साँचो अर्थमा आन्दोलन र उत्सवको सही दृश्य वर्णन गर्दैनथ्यो।

आन्दोलनमा कसको भिड कति थियो त्यो गन्ती पछि होला। तर तस्बिरमा देखिएको जस्तो न कसैको कार्यक्रमस्थल त्यति खाली थियो न त तस्बिरमा देखाइएको जस्तो कसैको कार्यक्रममा जनसागर नै उर्लिएको थियो।

एउटा साँचो कुरा के हो भने गणतन्त्र ल्याउन ज्यान जोखिममा मोल्नेहरू उत्सवमा सहभागी हुन त्यति इच्छुक देखिएनन्, जति पर्थ्यो। अनि राजावादीको भेलामा सहभागी हुन आएकामा पनि त्यो नैतिक बल देखिएन, जति देखिन पर्थ्यो। भनिन्छ, हजार शब्दले बोल्न नसकेको कुरा एउटा तस्बिरले बोल्छ। तर कहिले काहीँ त्यही तस्बिरको सत्यता वर्णन गर्न केही सय शब्द खर्च गर्नैपर्ने बनाउँछ।
प्रकाशित: १६ जेष्ठ २०८२ ०८:३१ शुक्रबार