झन्डै चार वर्ष अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शपथ ग्रहण गराउने क्रममा ओलीले भनेको ‘त्यो पर्दैन’ भन्ने वाक्य निकै चर्चामा रह्यो।
‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले शपथ गराउँदा ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश बोल्न ओलीले छुटाएका थिए।
राष्ट्रपतिले पुनः वाक्य दोहोर्याउँदा ओलीले ‘त्यो पर्दैन’ भन्दै अगाडि बढे। त्यति बेला राष्ट्रपति हाँसेकी थिइन्।
चार वर्षपछि त्यस्तै भावको बोली पूर्वराष्ट्रपति विद्या भण्डारीले फर्काएकी छन्। तर यो कुनै शपथ ग्रहणमा होइन। भण्डारीले आफू जिल्लामा जाँदा एमालेलाई सोध्नु नपर्ने बताएकी छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले यस्तो धारणा राखिन्। सञ्चारकर्मीले ‘तपाइँ पूर्व आउँदा काठमाडौँतिर किन भुइँचालो जान्छ?’ भन्दा भण्डारीले यस्तो ‘काउन्टर’ धारणा राखेकी थिइन्।
काउन्टर किन पनि हो भने, सञ्चारकर्मीले सङ्केत गरेको भुइँचालो चीन भ्रमणबाट फर्केपछि कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारी शनिबार झापा पुगेको बेला राजधानीमा ओलीले बोलेको टिप्पणीतर्फ लक्षित थियो।
गृहजिल्लामा भण्डारीको बाक्लो राजनीतिक भेटघाटपछि काठमाडौँमा ओलीले पार्टी महाधिवेशन आइनसकेको र पार्टी बाहिरबाट ढुङ्गा नहान्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिएका थिए। ‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ भण्डारीको राजनीतिक भेटघाटलाई लक्षित गर्दै ओलीले भनेका थिए, ‘पार्टीमा यस्तो कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’
एकअर्कामा घोचपेच भए पनि ओलीले आफूलाई त्यसो भनेको हुन नसक्ने भन्दै भण्डारीले ढाकछोप गर्ने प्रयास पनि गरिन्। ‘मलाई लाग्दैन, उहाँले मलाई लक्षित गरेर त्यसो भन्नुभएको हो,’ भण्डारीले पत्रकार सम्मेलनमा मुस्कुराउँदै भनिन्, ‘यो तपाइँ पत्रकारहरूले बनाएको धारणा हुन सक्छ।’ भण्डारीको यो मुस्कानमा पनि गहिरो रहस्य छुपेको छ। एमाले भित्र पाक्दै गएको खिचडी बुझ्नेले यसको आकलन गरिसकेका छन्।
त्यसैले पूर्वबाट सुरु भएको बहस पश्चिमसम्म लम्बिने वाला छ। उत्तरी मुलुक चीनबाट फर्केलगत्तै भण्डारी सक्रिय हुनुलाई ‘दक्षिणपन्थी’ भन्ने समेत आरोप लागेको ओलीको ‘एकछत्रे एमाले राज’ मा अर्को खड्गोको रूपमा लिइएको छ।
यसको सङ्केत सामाजिक सञ्जालमा पनि देखिएको छ। कसैले यसलाई ओलीको एकछत्र राजमा देखिएको बलियो टक्करको रूपमा सङ्केत गरेका छन् भने कतिपयले भण्डारीलाई पनि ओलीले अरूलाई जस्तै पन्छाइदिने तर्क राख्छन्।
‘अर्को माधव नेपाल बन्न नखोजौँ! राजनीति गर्ने भए सेवा सुविधा फिर्ता गरेर मैदानमा आउनुहुन्छ!,’ सामाजिक सञ्जालमा विकुलाल श्रेष्ठ मल्ल लेख्छन्, ‘नभए चुपचाप बसे हुन्छ! केपी बाको भर छैन, कुनै पनि बेला खोसिन सक्छ।’ त्यस्तै, कतिपयले यो वाकयुद्धले एमालेलाई क्षति पुर्याउने तर्क राख्छन्।
‘वर्तमान प्रधानमन्त्री र पूर्वराष्ट्रपति को अदृश्य वाकयुद्धले कति क्षति एमालेलाई पुर्याउने हो! भविष्यले भन्ला,’ सामाजिक सञ्जालमा रूपेश पुडासैनी लेख्छन्, ‘तर यो वाकयुद्ध रोकिने वाला छैन।’
पुडासैनीले भनेजस्तो यो वाकयुद्ध रोकिने नरोकिने त्यो बल ओलीको हातमा छ। त्यति बेला नवनियुक्त प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दा राष्ट्रपति विद्या भण्डारी शपथ ग्रहण समारोहमै मुस्कुराएकी थिइन्। यति बेला पूर्वराष्ट्रपति भण्डारीले विराटनगरमा पुगेर ‘त्यो पर्दैन’ (जिल्ला जाँदा एमालेलाई सोध्नु पर्दैन) भन्दा प्रधानमन्त्री ओली मुस्कुराउलान् या रिसाउलान्, त्यो भने हेर्न बाँकी नै छ।
प्रकाशित: २८ जेष्ठ २०८२ ०८:०२ बुधबार