१४ असार २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीज्यु, ग्वार्को ओभरपासको शिलालेख सच्याउने कि ?

ललितपुरस्थित ग्वार्को ओभरपास शुक्रबारबाट विधिवत् रूपमा सञ्चालनमा आएको छ। रिबन काट्ने पुरानो परम्परालाई परिमार्जन गर्दे प्रधानमन्त्री केपी शर्माले ओलीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक नवराज अधिकारीले रिबन काट्न लगाए।

उद्घाटन गर्न हतारिने प्रधानमन्त्री भनेर आरोप लाग्ने गरेका ओलीको यो ‘विवेकयुक्त’ कदमको सामाजिक सञ्जालमा खुवै तारिफ समेत भयो। अझ ओलीले उद्घाटन लगत्तै सामाजिक सञ्जालमा राखेको स्टाटसले पनि खुबै प्रशंसा बटुल्यो।

‘सडकको जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरी सडकमा अहोरात्र खट्छन्। ट्राफिक व्यवस्थापन गर्न उनीहरूले धेरै दुःख र मेहनत गर्नु परेको हुन्छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखे, ‘ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिल्यो।’

प्रधानमन्त्रीमा देखिएको ‘साक्षीभाव’को निकै तारिफ भयो। किनकि यो सराहनीय थियो र हुनु पर्ने यस्तै हो। जुन यस अघि भएको थिएन।

त्यसैले यो पोस्ट क्षणभरमै भाइरल बन्यो। विभिन्न सकारात्मक टीकाटिप्पणी आए। 'आधारभूत तहमा मेहनत गर्नेलाई, दिनुभएको यो सम्मानका लागि सम्माननीय प्रधानमन्त्रीज्युलाई उच्च सम्मान छ,’ प्रधानमन्त्रीको पोस्टमा भिमज्वाला राईले लेखेका छन्। यस्तै भावमा थुप्रै प्रतिक्रियाले उक्त सकारात्मक कामको तारिफ भएको छ।

यसै मेसोमा कतिपयले भने उद्घाटन समारोहमा पुलमा राखिएको शिलालेखमा भने ‘केपी शर्मा ओलीले समुद्घाटन’ गरेको उल्लेख गरेकाले प्रधानमन्त्रीको यो त्याग अलि ‘फिका’ भएको टिप्पणी समेत गरे।  

पुलको रिबन काटिनु अघि उघारिएको शिलालेखमा लेखिएको छ– ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्युबाट काठमाडौं चक्रपथ कलङ्की–कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाई ओभरको समुद्घाटन सु–सम्पन्न भयो।’  

हुन त उद्घाटन समारोहमा प्रहरीलाई रिबन का्टन लगाउने प्रधानमन्त्रीले यो शिलालेखको भाषा लेखेको होइन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लेखेको भाषा हो यो। अनि प्रधानमन्त्रीबाटै रिबन काटेर ओभरपासको उद्घाटन गराउने योजना पनि सोही मन्त्रालयको हो।

तर प्रधानमन्त्रीले मन्त्रालयको पछिल्लो योजनलाई परिमार्जन गरेर प्रहरीबाट समुद्घाटन गराए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ओभरपास उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीबाट रिबन कटाउने कार्यक्रम तय गरेको थियो। तर ओलीले ओभरपास उद्घाटनको रिबन आफूले नकाटी ट्राफिक प्रहरी अधिकारीलाई काट्न लगाएका हुन्।

ओभरपासनजिकै राखिएको शिलालेखमा राखिएको कपडा भने प्रधानमन्त्री ओली आफैँले उघारे। शिलालेखमा ओभरपासको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाटै गरिएको ब्यहोरा उल्लेख छ।

शिलालेखमा राखिएको कपडा उघारेपछि मन्त्रालयका सचिव केशव शर्माले उद्घाटनका लागि टाँगिएको रिबन काट्न प्रधानमन्त्रीलाई कैँची दिन खोजे। तर प्रधानमन्त्री ओलीले कैँची आफूले नलिई पछाडि हेरेर ट्राफिक प्रहरी खोज्न थाले। उनले ट्राफिक प्रहरीलाई बोलाएपछि सचिव शर्माले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीलाई अगाडि आउन आग्रह गरेका थिए।

प्रधानमन्त्रीले नै आग्रह गरेपछि अधिकारी अगाडि आए र रिबन पनि काटे। त्यसपछि उनले 'ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिल्यो' भन्ने पोस्ट सामाजिक सञ्जालमा सार्वजनिक गरे।  

हो, काठमाडौं उपत्यकाका सडकमा कम जनशक्तिका बाबजुद पनि दिनरात खट्नु सामान्य कुरा होइन। यो असाधारण काम गर्ने संस्थालाई प्रधानमन्त्रीले दिएको सम्मानको जति स्वागत गरे पनि कम हुन्छ।  

त्यसैले ओभरपासको पुलमा राखिएको शिलालेखभन्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा राखेको भनाइ निकै उत्कृष्ट र मार्मिक छ। त्यसैले कतिपयले प्रधानमन्त्रीलाई त्यो शिलालेख सच्याएर अर्को उत्कृष्ट काम गर्ने सल्लाह दिएका छन्। ‘भौतिक पूर्वाधार मन्त्रालयले तयार गरेको त्यो शिलालेखमा प्रधानमन्त्रीको त्यो आकर्षक पोस्ट झन् कति सुहाउँला,’ सामाजिक सञ्जालमा रवीन्द्र फुयाँलले लेखेका छन्, ‘प्रधानमन्त्रीज्युलाई समस्या नहुने हो भने त्यो शिलालेख सच्याउने कि।’

उनले नयाँ शिलालेख यस्तो हुनु पर्ने उदाहरण समेत दिएका छन्।

'सडकको जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरी सडकमा अहोरात्र खट्छन्। ट्राफिक व्यवस्थापन गर्न उनीहरूले धेरै दुःख र मेहनत गर्नु परेको हुन्छ। ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिल्यो। केपी ओली, प्रधानमन्त्री'

प्रकाशित: ८ असार २०८२ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App
OSZAR »