प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले लोकतन्त्र स्थापनाका लागि गरेको लामो, संघर्षपूर्ण र त्यागले भरिएको यात्राको विश्वसामु चर्चा गरेका छन्।
स्पेनमा राष्ट्रसङ्घीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले १७ हजारभन्दा बढीको ज्यान लिने सशस्त्र द्वन्द्वदेखि १०४ वर्षे राणा शासन र ३० वर्षे पञ्चायतको अन्त्य गर्दै २४० वर्षे राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको ऐतिहासिक घटनाक्रम प्रस्तुत गरे।
नेपाली संस्कृतिले ज्ञानको केन्द्रलाई ‘विवेकको मन्दिर’ मान्ने गरेको बताउँदै उनले अक्सफोर्डमा बोल्दा आफूले त्यस्तै एउटा महान् मन्दिरमा उभिएको महसुस गरेको बताए।
आफ्नो सम्बोधनलाई नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको यात्रामा केन्द्रित गर्दै उनले भने, ‘नेपालको यो यात्रा संघर्ष, बलिदान र आशाले भरिएको छ।’
नेपालको आधुनिक इतिहास पृथ्वीनारायण शाहले सन् १७६८ मा गरेको एकीकरणबाट सुरु भएको बताउँदै उनले रोचक संयोग प्रस्तुत गरे।
‘नेपालको एकीकरण र संयुक्त राज्य अमेरिकाले आफ्नो स्वतन्त्रताको घोषणापत्र अपनाएको समय लगभग एउटै थियो,’ उनले भने।
त्यसपछिका राजनीतिक घटनाक्रमबारे बोल्दै उनले भने, ‘१०४ वर्षसम्म राणा शासनको तानाशाहीमा नेपाली जनताले आफ्नो स्वतन्त्रता गुमाउनु पर्यो।’
सन् १९५१ मा आएको प्रजातन्त्रको पहिलो बिहानीलाई राजाले तुहाएर निर्दलीय पञ्चायती व्यवस्था लादेको उनको भनाइ थियो।
सन् १९९० र २००६ को जनआन्दोलनले ल्याएको परिवर्तनको चर्चा गर्दै उनले माओवादी सशस्त्र द्वन्द्वको अन्त्य र विस्तृत शान्ति सम्झौता भएको उल्लेख गरे। ‘एक दशक लामो सशस्त्र हिंसामा १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए,’ उनले भने।
‘हाम्रो इतिहासमा पहिलो पटक सन् २००८ मा निर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो शाह वंशको राजतन्त्रलाई अन्त्य गर्ने ऐतिहासिक निर्णय गर्यो,’ उनले भने, ‘यसरी नेपाल एक निरंकुश राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भयो।’
उनले आफ्नो लोकतन्त्रको दृष्टिकोण ‘व्यापक लोकतन्त्र’ भएको बताउँदै भने, ‘यस्तो लोकतन्त्र जहाँ हरेक व्यक्तिले सम्मान, सुरक्षा र असीमित सम्भावना महसुस गरोस्।’
आफ्नो सरकारको मूल नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको बताउँदै उनले भारत र चीनजस्ता दुई आर्थिक शक्तिराष्ट्रको बीचमा रहेको नेपालसँग आर्थिक विकासको अपार सम्भावना रहेको बताए।
प्रकाशित: १७ असार २०८२ २२:०३ मंगलबार