१९ असार २०८२ बिहीबार
image/svg+xml
समाज

पाँच करोडमै सकियो आठ करोडको आयोजना

पुनर्निर्माण गरिएको भक्तपुर नगरपालिकाको गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर। तस्बिर: नागरिक

‘लागत अनुमान सात करोड ७७ लाख रुपैयाँ, कुल खर्च चार करोड ८३ लाख।’ लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन समारोहमा राखिएको खर्च विवरण हेर्दा धेरैलाई लाग्छ, यो कसरी सम्भव होला? तर भक्तपुर नगरपालिकामा यो सम्भव छ।

जयस्थिति मल्लको पालामा बनेको गःहिटीस्थित सात सय वर्ष पुरानो मन्दिरको पुनर्निर्माणसँगै मंगलबार मितव्ययी उद्घाटनले नयाँ आशाको सञ्चार भएको छ। ढिलासुस्ती र लापरबाहीका कारण लागतभन्दा धेरै खर्चमा निर्माण कार्य हुँदै आएको देख्ने र सुन्नेका लागि भक्तपुरको यो मन्दिरले नयाँ सम्भावना देखाएको छ।

यो मात्र होइन, भक्तपुरमा यसअघि बनेका अधिकांश मठमन्दिरको खर्च लागत अनुमानभन्दा कम रहेको भक्तपुर नगरपालिकाको सम्पदा शाखा प्रमुख इन्जिनियर रामगोविन्द श्रेष्ठ बताउँछन्। ‘उपभोक्ता समितिमार्फत गराइने काममा जनताको अपनत्व हुने गरेको पायौं,’ उनले भने, ‘नगरपालिकाको प्रभावकारी नियमन र जनताको श्रमदानले सोचेभन्दा निकै कम खर्चमा काम हुँदै आएको छ।’

श्रेष्ठले भनेजस्तै यसअघि निर्माण भएको भक्तपुरको टौमडीस्थित भैरवको मन्दिरको लागत अनुमान एक करोड ४६ लाख रुपैयाँ गरिएकोमा ५६ लाखमै काम भएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरको जीर्णोद्धार पनि लागत अनुमानभन्दा कम खर्चमा भएको देखिन्छ। २०७७ सालमा जीर्णोद्धार भएको यो मन्दिरको लागत अनुमान ६४ लाख रुपैयाँ गरिएकोमा ४० लाखमै काम भएको नगरपालिकाको भनाइ छ।

‘यी त केही उदाहरण मात्र हुन्, यहाँका अधिकांश मन्दिर अनुमानित लागतभन्दा निकै कम खर्चमा निर्माण, पुनर्निर्माण भएका छन्,’ भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति भन्छन्, ‘जनताको अपनत्व, नगरपालिकाको सक्रियता र संस्कृतिप्रतिको मायाले हरेक काम मितव्ययी हुने गरेको छ।’

२०७२ सालको भूकम्पबाट क्षति पुगेका एक सय २० वटा सम्पदामध्ये एक सय १८ वटाको जीर्णोद्धार र पुनर्निर्माण भइसकेको उनले बताए। ‘बाँकी सम्पदाको काम पनि तीव्र गतिमा हुँदै छ,’ प्रजापतिले भने, ‘हामीले हाम्रै अग्रसरतामा भूकम्पले ढालेको भक्तपुरलाई उठाएका छौं।’

लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन गरेकै दिन भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले शपथ लिएको तीन वर्ष पुगेको छ। यसै उपलक्ष्यमा नगरपालिकाले तीन वर्षको प्रतिवेदन पनि संक्षिप्त रूपमा सार्वजनिक गरेको छ। स्थानीय तहको दोस्रो कार्यकालका लागि भएको निर्वाचनबाट निर्वाचित भएका उनीहरूले २०७९ जेठ ६ गते शपथसँगै कार्यभार सम्हालेका थिए। ‘कार्यकालको पहिलो वर्ष ख्वप अस्पतालको नयाँ भवन उद्घाटन र दोस्रो वर्ष भाज्या पुखु उद्घाटन ग¥यौं,’ मेयर प्रजापतिले मंगलबार भने, ‘गत वर्ष आजकै दिन वडा नं. १० स्थित टेबुल टेनिस कभर्ड हल र ख्वप तिलगंगा आँखा अस्पतालको उद्घाटन गरेका थियौं। वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर पुनर्निर्माण गरी आज उद्घाटन ग¥यौं।’

प्रजापतिले कला र संस्कृतिले भरिपूर्ण भक्तपुर प्राचीन नगर भएको र यहाँका मूर्त र अमूर्त सम्पदा अमूल्य सम्पत्ति रहेको बताए।

‘सम्पदाको संरक्षण र सम्वर्र्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्नु हामीले कर्तव्य र जिम्मेवारी ठानेका छौं,’ उनले भने, ‘त्यसका निम्ति हामी कला र संस्कृति संरक्षणमा निरन्तर लागिरहेका छौं।’

मेयर प्रजापतिले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले लेखेको पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ र १५ वर्षभित्र ‘एक घर एक स्नातक’ बनाउने घोषणा भक्तपुरको आर्थिक, सांस्कृतिक र सामाजिक रूपान्तरणको आधार र मार्गनिर्देशक बनेको सुनाए।

नयाँ संविधान कार्यान्वयनमा आएको १० वर्ष बितिसक्दा पनि संघीयता राम्रोसँग कार्यान्वयनमा आउन नसकेको अवस्थामा भक्तपुर नगरपालिका सबै चुनौतीहरूबिच आत्मनिर्भरताको कठोर बाटो अवलम्बन गर्दै विकासपथमा अगाडि लम्किरहेको उनले बताए।

प्रजापतिले भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य र संस्कृतितर्फ अगाडि बढेको सुनाए। भक्तपुर नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका दुईवटा इन्जिनियरिङ कलेजसहित सातवटा शैक्षिक संस्थामा ७७ जिल्लाका सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको मेयर प्रजापतिले बताए। नगरपालिकाले शिशु स्याहारदेखि स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्दै ख्वप विश्वविद्यालय स्थापनामा निरन्तर जोड दिँदै आएको उनले बताए।

उनका अनुसार ख्वप इन्जिनियरिङ कलेजमा २०५८ देखि २०८२ सालसम्म भक्तपुरबाहेक विभिन्न जिल्लाका पाँच हजार दुई सय ६५ विद्यार्थी भर्ना भएका छन्। त्यस्तै यो अवधिमा भक्तपुरका दुई हजार ६३ जना भर्ना भएको उनले बताए।

त्यसैगरी स्वास्थ्यतर्फ भक्तपुर नगरपालिकाले एक सय शड्ढयाको ख्वप अस्पताल सञ्चालन गरेको छ। श्वासप्रश्वास पुनः स्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत पनि नगरपालिकाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी उनले दिए।

सम्पदा संरक्षणलाई नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको छ। चालु आर्थिक वर्षको १० महिनामा मठ एक, मन्दिर जीर्णोद्धार चार, पाटी चार, द्योछें पुनःनिर्माण/मर्मत तीन, पोखरी एक, इनार एक, ढुंगेधारा संरक्षण एक र अन्य गरी १६ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्घार गरिएको मेयर प्रजापतिले बताए।

ढुंगेधारा एक, मठ एक, मन्दिर तीन, पाटी नौ, द्योछें दुई, पोखरी पाँच र अन्य गरी २३ वटा सम्पदाह पुनःनिर्माण, जीर्णोद्धार र निर्माणाको क्रममा रहेको जानकारी उनले दिए। प्रसिद्ध थन्थु दरबार, दत्तात्रयस्थित पुजारी मठ, वडा नम्बर ६ स्थित छुमा गणेश द्योछेंलगायतका सम्पदाहरू माटो जोडाइबाट निर्माण गर्दै गरेको मेयर प्रजापतिले बताए।

चालु आवको १० महिनामा गैरसार्क देशका एक लाख १८ हजार सात सय ५४ तथा सार्क देश र चिनियाँ गरी ९३ हजार तीन सय २१ जनाले भक्तपुरको अवलोकन भ्रमण गरेको जानकारी पनि उनले दिए।

नगरपालिकाले स्थानीय युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउन सिलाइ मेसिन मर्मत तालिम, ग्यास चुल्हो मर्मत तालिम, हेयर कटिङ तालिम, आधारभूत र एडभान्स पाक शिक्षा तालिम, आधारभूत र एडभान्स सिलाइ तालिम दिएको छ। चालु आवको यस अवधिमा पाँच सय १६ जनाले यस्तो तालिम प्राप्त गरेको मेयर प्रजापतिले बताए।

उनले भने, ‘गरिबी निवारणको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालित बेकरी, मखमली जुत्ता बनाउने र पेपर रिसाइक्लिङ तालिम पनि प्रदान गरेका छौं।’ नगरपालिकाले युवालाई स्वरोजगार बनाउन पाँच लाख रूपैयाँसम्म युवा उद्यमशीलता ऋणका नाममा दिने गरेको छ।

त्यस्तै विकास निर्माणतर्फ भक्तपुर नगरपालिका–६ देकोचामा नगरको गौरव योजना अरनिको सभा भवनको दोस्रो चरणको निर्माण भइरहेको जानकारी प्रजापतिले दिए। ‘हामी कला संस्कृतिको जगेर्नासँगै ज्ञान विज्ञानको बाटोतर्फ नगरवासीलाई लैजाँदै छाैं,’ उनले भने, ‘परम्परागत ज्ञान र आधुनिक विज्ञानको सहयोगले भक्तपुर फरक बाटोमा हिँड्दै छ।’

प्रकाशित: ७ जेष्ठ २०८२ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App
OSZAR »